मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

बुधबार, माघ २४ २०८०

काठमाडौँ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा उपलब्ध मुख्यमन्त्रीहरू तथा स्थानीय तहका प्रतिनिधि सहभागी हुने छन् ।

परिषद्को पहिलो बैठक गत असारमा पोखरामा बसेको थियो । उक्त बैठकले संघीयता कार्यान्वयनका लागि देखिएका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय गरेको थियो ।

परिषदले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने काम गर्दछ ।

बैठकमा गत असारमा पोखरामा बसेको परिषदको पहिलो बैठकका निर्णयको समीक्षा र कार्यविस्तृतीकरणलाई अन्तिम रुप दिने विषयमा छलफल हुने छ । पोखरा बैठकले संघीयता कार्यान्वयनको क्रममा संघ, प्रदेश र स्थानीय तहबीच देखिएका क्षेत्राधिकारका विवाद लगायतका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय गरेको थियो ।

सरकारले पूर्वमुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा कार्यविस्तृतीकरण प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनमा अघिल्लो हप्ता प्रधानमन्त्री प्रचण्डसहित छलफल समेत भएको थियो । आज त्यसलाई अन्तिम रुप दिने प्रयास हुने छ ।