काठमाडौं । आज ८ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो ।
आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० (मस्यौदामाथि) पेश तथा छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आ.व २०७९/८० को वार्षिक प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोह्रौं पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुनेछ ।