काठमाडौं । पूर्व सामान्य प्रशासन मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए । बुढाथोकी क्यान्सरबाट पीडित थिए ।
उपचारका क्रममा विराट मेडिकल कलेज विराटनगरमा उनको निधन भएको हो ।
उनको निधनले पूर्वी नेपाल खासगरी झापामा ठूलो रिक्तता अनुभूति हुने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्री बनेका थिए ।
बुढाथोकी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । उनले ‘आफ्नो–आफ्नो सगरमाथा’ पुस्तक पनि लेखेका छन् ।
जनतामाझ उनी निडर र स्पष्ट वक्ता भनेर चिनिन्थे। तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह र भुटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जिलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेका नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए। विसं २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल पनि परेका थिए ।
पञ्चायतकालमा झापा जिल्ला पञ्चायतको सभापति र युवक सङ्गठनको सभापतिसमेत बनेका उनी केही समय पञ्चायतको समर्थक र बहुदलीय प्रजातन्त्रकालमा केही समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत सक्रिय बनेका थिए ।
विगत दुई सातादेखि उनलाई प्रोस्टेटको समस्या जटिल भएपछि विराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । पार्टीभित्र आफ्ना विचार निडर भएर राख्ने र झापाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनहाँको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको छ ।
बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन् । उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ ।