काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् ।
महानगरले हालै धरहरामा निःशुल्क पार्किङ सुरू गरेपछि त्यसलाई बन्द गर्न पत्र आएको भन्दै उनी आक्रोशित बनेका हुन् ।
शहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो ।
बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका हुन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्- उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
‘अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।’ उनले भनेका छन् ।