निजी क्षेत्रले गर्यो विरोध
काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा बिहीबार नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि सरकारले छानविन थालेको छ । सरकारी निकायले चौधरी ग्रुपमाथि पहिलोपटक छानविन थालेको हो ।
काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा हडपेको आरोपमा चौधरी ग्रुपका एक सदस्य अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । कागजात किर्ते गरेर सरकारी जग्गा हडपेको सम्बन्धमा यस ग्रुपका अध्यक्ष विनोद चौधरीमाथि पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निगरानी गरिरहेको बताइएको छ ।
सिआइबीले उद्योगी(व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको हो । उनलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धान गर्न बिहीबार दिउँसो पक्राउ गरिएको थियो । अरुण चौधरी ग्रुप (सिजी) का अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन् ।
उनी चौधरी ग्रुप अन्तर्गतको कम्पनी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन् । चौधरीलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
चौधरीलाई सिआइबीले पक्राउ गरेर हिरासतमा राख्ने अनुमतिका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरीलाई चार दिन हिरासतमा राख्नका लागि म्याद थप गरेको हो ।
प्रहरीले चौधरीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट म्याद मागेको थियो । चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको थियो । उनलाई सिआइबी हिरासतमा राखिएको छ ।
सोही प्रकरणमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सिआइबीले अरुण चौधरीबाहेक अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । उद्योगी चौधरीलाई बिहीबार अपराहृन लाजिम्पाटस्थित आफ्नै घरबाट सिआइबीले पक्राउ गरेको थियो भने चौधरी अध्यक्ष रहेको सिजी होल्डिङ्सको महाप्रबन्धक रहेका सञ्जय ठाकुरलाई काठमाडौंबाट पक्राउ गरेको सिआइबीले जनाएको छ । त्यस्तै, थापालाई भने बत्तीसपुतलीबाट पक्राउ गरिएको थियो । थापा बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष हुन् । तीनै जनामाथि अनुसन्धान गर्न भनेर सिआइबीमा वडा नम्बर ३ का ४८ जनाले उजुरी दिएको बताइएको छ ।
सिआइबीले चौधरी समूहका एक सदस्य अरुण चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरेसँगै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा विवाद पुनः सतहमा आएको छ । ३७ वर्षदेखि चौधरी समूहले मिचेर चलाइरहेको १० रोपनी जग्गामा सिआइबीले पछिल्लो केही महिनादेखि गम्भीर रूपमा अनुसन्धान गरिरहेको थियो । जुत्ता कारखानाको जग्गा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धानमा पनि अनुसन्धानकै क्रममा रहेको पाइएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सिआइबीले जनाएको छ । चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ ।
उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरुणकुमार चौधरीलगायत रहेका छन् । कुनै समय उक्त जग्गा दिएबापत बाँसबारी छाला तथा जुत्ता कारखानासमेत सेयर सदस्य बनेको थियो ।
बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा उक्त सु फ्याक्ट्रीले लगेको कुरा डा.भगवान् कोइरालाले आफ्नो पुस्तक ‘हृदय’मा उल्लेख गरेका थिए। त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो । उक्त जग्गा अहिले अरुण चौधरी, उनकी श्रीमती शिला चौधरी, आम्रपाली कन्स्ट्रक्सनका अध्यक्ष सञ्जु ठाकुर र केही सेयर विनोद चौधरी समेतको नाममा रहेको सिआइबीले जनाएको छ ।
जुत्ता उत्पादन सुरु गरेदेखि नै बाँसबारी छाला तथा जुत्ता कारखानामा उतारचढाव आइरहेका थिए । त्यहीबीचमा सरकारी निकायबाटै कारखाना निरन्तर घाटामा रहेको प्रतिवेदन तयार हुन थाल्यो । जस्तो, अर्थ मन्त्रालयले आर्थिक वर्ष २०४०–४१ मा तयार पारेको वार्षिक वित्तीय विवरणमा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेड ४६ लाख रुपैयाँ घाटामा रहेको उल्लेख गरियो । यो प्रतिवेदन कसरी तयार पारियो भन्ने त खुलेको छैन, तर त्यसपछि कारखाना क्रमशः घाटामा देखिन थाल्यो । २०४१-४२ मा कारखानाले ४३ लाख र २०४२-४३ मा ३२ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको अर्थ मन्त्रालयको विवरणले देखाउँछ ।
यसरी लगातार घाटा बेहोरेको देखाएर कारखानाको ८३ रोपनी जग्गामध्ये १० रोपनी जग्गा बिक्री गर्ने निर्णय गरियो । त्यो जग्गा किन्न आइपुग्यो- ‘च्याम्पियन फुटवेयर लिमिटेड’ नामको कम्पनी । त्यस बेलाका कागजात केलाउँदा २०४३ भदौ १३ गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१औँ बैठकले प्रतिरोपनी दुई लाख ५० हजारका दरले कुल १५ लाख रुपैयाँमा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई बेच्ने निर्णय गरेको देखिन्छ । यस्तो निर्णय गर्दा जग्गा बिक्रीबाट कारखानाले बेहोरिरहेको घाटा पूर्ति हुने दाबी गरिएको थियो ।
कम्पनी रजिस्ट्रार कार्यालय र मालपोतमा रहेका कागजात केलाउँदा च्याम्पियन फुटवेयर लिमिटेडको सञ्चालकमा देखिए-मुलुकको प्रमुखमध्येको व्यापारिक घराना, चौधरी ग्रुप परिवारका सदस्यहरू । २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरको सेयर सदस्यमा विनोदकुमार चौधरी, अरुणकुमार चौधरी, लुनकरणदास चौधरी, वसन्तकुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी भएको देखिन्छ ।
पक्राउ गरिनु निजी क्षेत्र माथिको प्रहार
निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ ।
परिसंघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो ।
परिसंघले चौधरी नेपालका एक प्रतिष्ठित उद्यमी भएको र देश छाडेर नभाग्ने भएपनि सरकारले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरिनु निजी क्षेत्र माथिको प्रहार भएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीलाई शंकाकै भरमा पक्राउ गर्नु न्यायसंगत नभएको बताए ।
यस्तै, नेपाल उद्योग परिसंघका निःवर्तमान अध्यक्ष विष्णु अग्रवालले दोषी प्रमाणित नभएसम्म उद्योगी व्यवसायीलाई थुनामा राख्न नहुने बताए । उनले उद्योगी व्यवसायीलाई प्रहरीले बोलाएर सोध्ने हो भने सबै जवाफ दिन तयार भएपनि सरकारले त्यो अवसर समेत नदिएको बताए । उनले भाग्ने सम्भावना नभएका व्यवसायीलाई पक्राउ गर्नु गलत भएको समेत जिकिर गरे ।