काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता रहेको बताएका छन् । अध्यक्ष ओलीले देशमा अहिले काम गर्न सक्रिय उमेर समूहको जनसंख्या ६० प्रतिशत भएकाले देश बनाउने वेला अहिले नै भएको समेत बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीले सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउन नसके ज्येष्ठ नागरिक संख्या बढी भएको, काम गर्नेभन्दा आश्रित भएर खानेको, उत्पादन गर्नेभन्दा उत्पादन खपत गर्ने बढी जनसंख्या भएको देश हुने बताएका छन् ।
‘हामी हरेक दिन देश किन बनेन भन्ने प्रश्नमै सीमित हुन्छौं। देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता छ । व्यक्ति–व्यक्तिको आत्मविश्वासबाट राष्ट्रिय आत्मविश्वास सिर्जना हुन्छ । हामीले राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ । निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर हुँदैन ।’ उनले भने, ‘हामीले के सकारात्मक प्रयास गर्छौँ, राष्ट्रिय आत्मविश्वास कसरी जगाउँछौँ, त्यसमा भर पर्छ । हाम्रो देशमा अहिले काम गर्न सक्रिय उमेर समूहको जनसंख्या ६० प्रतिशत भएकाले देश बनाउने वेला यही हो । सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउन नसके ज्येष्ठ नागरिक संख्या बढी भएको, काम गर्नेभन्दा आश्रित भएर खानेको, उत्पादन गर्नेभन्दा उत्पादन खपत गर्ने बढी जनसंख्या भएको देश हुन्छ। राष्ट्रको आत्मविश्वास निर्माणमा हामी हरेकले लाग्नु पर्ने आवश्यकता छ।’