काठमाडौं । सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका दुईजना लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत प्रमुख मालपोत अधिकृत लेखा पनेरु महत र मोरङको सुन्दर हरैँचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई विशेष अदालतले जनही ६–६ महिना जेल सजाय हुने ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीश एकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले शुक्रबार दुवै अधिकृतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
ताप्लेजुङ मालपोतका प्रमुख मालपोत अधिकृत पनेरु महतलाई विशेष अदालतले ६ महिना कैद सजाय र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । उनलाई अख्तियारको टोलीले २०७९ वैशाख ११ गते सोवाग्राहीबाट लिएको एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो ।
बुवाको नामको जग्गा दाखिला खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट उक्त घुस लिइसकेपछि पनेरुलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले चलाएको भ्रष्टाचार मुद्दामा ढकाललाई पनि विशेष अदालतले शुक्रबार दोषी ठहर गर्दै सजाय र जरिवाना तोकेको हो । अदालतका न्यायाधीश डा खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले ढकाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको छ ।