काठमाडौं । नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीको पछिल्लो अभिव्यक्ति आक्रोशित बनाएकाे बताएका छन् ।
प्रवक्ता प्रकाण्डले आफ्नो अध्यक्ष नेत्र विप्लव चन्दविरुद्ध पक्राउ पुर्जी जारी भएर पनि पक्राउ नपरेको भनेर ज्ञानेन्द्र शाहीले दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न चेतावनी समेत दिएका छन् ।
प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डले शाहीले शनिबार सिन्धुपाल्चोक सम्पर्क समितिको कार्यक्रममा दिएकाे अभिव्यक्तिले आफूहरुलाई आक्रोशित बनाएको बताएका छन् ।
शाहीको अभिव्यक्तिले ३ बुँदे सहमति भंग गर्ने, अराजकता मच्चाउने, देशलाई द्वन्द्वतिर धकेल्ने र वर्तमान संकटग्रस्त अवस्थाबाट देशलाई क्रान्तिकारी समाधान दिनबाट रोक्ने भन्दै फिर्ता लिएर माफी माग्न र त्यसो नगरे हुने परिणाम भोग्न प्रवक्ता प्रकाण्डले धम्की दिएका छन् ।
‘यदि पार्टी र नेतृत्वका विरुद्धको विषवमन सच्चाइएन भने त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवार निज ज्ञानेन्द्र शाही नै हुने कुरा समेत पार्टी स्पष्ट गर्दछ’, प्रकाण्डले विज्ञप्तिमा भनेका छन् ।
साथै विज्ञप्तिमा भनिएको छ- उक्त अभिव्यक्तिको अन्तर्यमा रहेको पार्टी नेतृत्वका विरुद्ध गम्भिर षडयन्त्रको नेपाल कम्युनिस्ट पार्टी घोर निन्दा र कडा भत्सना गर्दछ ।