मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

कांग्रेसबाट धोका भएको भन्दै माओवादी नेताहरु बालुवाटारमा भेला, कोशीमा कांग्रेससँगको सहकार्य भंग गर्न सक्ने

शुक्रबार, माघ १२ २०८०

काठमाडौं । कोशीमा राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका कृष्ण सिटौला निवाचित भएसँगै माओवादी केन्द्रका चासो बढेको छ । सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बन्न नदिन शुक्रबार बिहानै माओवादी नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

आजको छलफलले कोशीमा कांग्रेससँगको सहकार्य भंग गर्न सक्ने एक नेताले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँग गम्भिर रुपमा आफ्नो प्रदेशको कुरा राखिने र सम्भवत कोशीमा नयाँ ढंगले अघि बढ्नसमते सकिने उनले बताए ।

कोशी प्रदेशको महिला कोटामा आफ्नो पार्टीकी उम्मेद्वार चम्पादेवी कार्की पराजित भएपछि माओवादीभित्र समिक्षा सुरु भएको छ । विहीबार भएको निर्वाचनमा कोशीमा कांग्रेसका सिटौला र महिला कोटामा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भइन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी कार्कीलाई सत्ता गठबन्धनको साथ थियो । तर, निर्वाचनमा कांग्रेसबाट फ्लोर क्रस भएपछि माओवादीकी कार्की पराजित भएकी हुन् ।

यसअघि पनि कोशीमा कांग्रेस खासगरी शेखर कोइराला समूहले माओवादीलाई धोका दिइसकेको छ ।

निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले कांग्रेसले धोका दिएको भन्दै कोशीमा कांग्रेससँगको सहकार्य भंग हुने बताएका थिए ।

उनले कांग्रेसले गठबन्धनका नाममा माओवादीलाई पटकपटक धोका दिएको बताएका थिए । उनले गठबन्धन टिकाउने नाममा कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाएको बताउँदै भने, ‘अहिले पनि हाम्रा उम्मेदवार पराजित भएका छन् । पार्टी नेतृत्वले केन्द्रमा सहकार्य गरेपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्छौँ ।’

कोशीको निर्वाचनमा धोका भएको भन्दै आज विहानै प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका नेताहरु भेला भएका छन् । अधिकांश नेताहरुले कांग्रेसले धोकाको राजनीति गरेको भन्दै अब समिक्षा गर्नुपर्ने बेला आएको आवाज उठाएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका उम्मेद्वार कृष्ण सिटौला विजयी हुँदा आफ्नो उम्मेद्वार हारेकामा माओवादी नेताहरु रुष्ट छन् ।