मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आजदेखि श्रीस्वस्थानी व्रत आरम्भ, महिनाभर ‘स्वस्थानी व्रत’ कथा सुन्ने र सुनाइने

बिहिबार, माघ ११ २०८०

काठमाडौं । आजदेखि श्रीस्वस्थानी व्रत आरम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्रीस्वस्थानी व्रतमा नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र माघ स्नान गर्ने गर्छन् ।

पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी, स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याहृन कालमा महादेवको पूजा गरिन्छ ।

बेलुकी ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ । स्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधी लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए पनि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । आजैदेखि एक महिनासम्म काठमाडौंको साँखुमा रहेको शालीनदीमा माघ स्नानसहित माधवनारायणको मेला लाग्ने गर्दछ ।

श्रीस्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं बहृमा वरुणेन्द्र रुद्रमरुत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ । अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ । हिन्दु धर्मालम्बीहरूले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ ।