काठमाडौं – तीन दिनपछि (२०८० माघ ११ गते) हुने राष्ट्रियसभाको चुनाव नेपाली राजनीतिको पानी ढलोको संभावना बोकेर उभिएको छ । यो चुनावमा हुने मतदानले आउँदो चुनावसम्मको राजनीतिक परिघटनालाई सरसर्ती बताउनेमात्र छैन, नेपाली राजनीतिको परिघटनालाई पनि उथलपुथल बनाईदिनसक्छ ।
चुनावपछि सरकारमा हेरफेरमात्र हुने होइन, सरकार नै फेरिने संभावना पनि रहेको छ । राजनीतिक वृत्तमा मन्त्री फेर्ने कि प्रधानमन्त्री फेर्ने भन्ने खेल पनि चलिरहेको छ । एमालेले यही बेलामा सरकार फेर्ने आन्दोलन गर्ने बताउन थालेको छ । अनि सरकारमा रहेका साना दलहरु जनमत, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी प्रचण्डसँग असन्तुष्ट रहेका छन् । यसले गर्दा सरकारको टेको नै बलियो नभएको बेलामा कसरी प्रचण्डले सरकार टिकाउँछन् भन्ने चाहिँ प्रष्ट भएको छैन ।
कांग्रेसभित्र देउवा छिट्टै प्रधानमन्त्री हुने चाहनामा छन् भने शेखर कोइराला पनि प्रचण्डको सरकार ढाल्ने खेलमा नै छन् । सबैतिरबाट आक्रमणमा परेका प्रचण्डले २०८० माघ ११ गतेपछि कसरी व्यवस्थापन गर्ने प्रयास गर्छन् भन्ने निकै महत्वपूर्ण परिघटना बन्ने छ ।
एकथरी माओवादी केन्द्रका नेताहरु एमालेसँग संवादमा छन् भने एकथरी कांग्रेस नेताहरु एमालेसँग रहेका छन् । तथापि भारत र अमेरिका तत्काल एमालेलाई बाहिर राखेर कमजोर प्रधानमन्त्री प्रचण्डबाटै अधिकतम् फाइदा लिने प्रयासमा लागेका छन् । एमालेलाई बाहिर राखेर कमजोर बनाउँदा भारत र अमेरिकी लाइन हावी हुने उनीहरुको बुुझाइ देखिन्छ । साँघु साप्ताहिकबाट