मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

पशुपतिमा पोल्न ल्याइएका लासमाथि माफिया मेडिकल व्यवसायी विशाल पण्डितको घिनलाग्दो कमिशन खेल

चल्दाचल्दैको शवदाह मेसिनका ठाउँमा नयाँ खरिद, पर्यटनमन्त्री गुम्रहामा की कमिशनमा !

मंगलबार, माघ ९ २०८०

काठमाडौं । कमिशनका लागि पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा रहेका मुर्दा पोल्ने मेसिन फेर्ने योजना अघि सारिएको छ । विशेष स्रोतका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलगायत पशुपति विकास कोषका सदस्य सचिव राजु केसी,   काेषका केही पदाधिकारीसहितको मिलेमतोमा मुर्दा पोल्ने मेसिन खरीद भएको खुलेको छ ।

यसअघि मन्त्री सुदन किराँतीले विद्युतीय शवदाह गृह निःशुल्क हुने भन्दै वैशाख २४ गते बसेको मन्त्रालय र कोष सञ्चालक परिषद्को बैठकबाट मेसिन थप्ने, मेसिनमा शवदाह गर्दा शुल्क नलाग्ने बनाउने समेत निर्णय गराएका थिए । निःशुल्क त परैको कुरा आज त्यही मेसिन  खरीदमा कमिशनको चलखेल भएको हो । चलेखेलमा योजनाकारदेखि सहयोगीको भूमिकामा छन् उनै मेडिकल व्यवसायी विशाल पण्डित ।

पशुपति क्षेत्र विकास कोष परिषद्को बैठकले पुराना २ वटा मेशीनको सट्टामा २ वटा नयाँ मेसिन र थप नयाँ २ वटा मेसिन गरी जम्मा ४ वटा नयाँ विद्युतीय मेसिन खरिद गरी जडान गर्ने निर्णय गरेको थियो ।

यस्तै सोही बैठकले भौतिक पूर्वाधार निर्माण गर्न तथा आवश्यक मेशीनहरु खरिद गर्नका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरी रु २५ करोड सम्मको श्रोत सुनिश्चतता गर्ने र मेशीन खरिद तथा भौतिक पूर्वाधार निर्माण कार्यका लागि बहुवर्षीय कार्यक्रममा समावेश हुने गरी हाललाई कोषले रु. ८ करोडसम्म रकम खर्च गर्ने र खर्च भएको रकम काठमाडौं महानगरपालिकाबाट रकम प्राप्त भएपछि कोषलाई सोधभर्ना गर्ने निर्णय गरेको थियोे ।

पशुपतिमा अवस्थित शव दाह गृहमा चलिरहेकै अवस्थामा रहेका तीन वटा शव दाहका मेशिन फेर्ने भन्दै पशुपति विकास कोषले काठमाडौं महानगरपालिकासँग पछि सोधभर्ना गर्ने गरी २५ करोड निकासी गराएको र मिलेमतोमा टेण्डर पारी १२–१३ करोड रुपैयाँको हाराहारीमा मेशिन खरीद गरेको खुलेको छ । मेशिन खरीदमै करिव पचास प्रतिशत कमिशन हात लागेको खुल्न आएको श्राेतकाे दाबी छ ।

यसमा पनि मेडिकल माफियाका रुपमा परिचय बनाएका मेडिकल सप्लायर्स विशाल पण्डितकै हात रहेको पाइएको छ । उक्त टेण्डरमा पनि बसेरा होटलका मालिकसमेत रहेका र हरेकजसो टेण्डर पार्दा राम्रै कमिशन खान–खुवाउन माहिर मानिएका तिनै विशाल पण्डितको हात रहेको छ । विशाल पण्डित राजनीतिक रुपमा हरेक पार्टीका शीर्ष नेतृत्वसँग नजिक छन् । उनी यसअघि मेडिकल सामाग्री खरीदमा पनि निक्कै कमिशन भित्त्राउन सफल भएका व्यापारी हुन् ।

यसअघि पनि स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा करोडौं करोडका उपकरण आपूर्तिको ठेक्का सधैं विशाल पण्डित सञ्चालक रहेको हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन ट्रेड प्रालिले सेटिङमा पाउँदै आएको र अख्तियारमा उनका बिरुद्ध दर्जनौं उजुरी पर्दा पनि त्यहाँभित्रै उनले मिलाउने काम गरेको समाचार आएका थिए।

११ करोड रुपैयाँमा निर्माण भएको शवदाह गृहमा शव जलाउन अहिलेपनि तीन वटा मेशिन छन् । २०७१ माघमा विद्युतीय शवदाहका लागि दुइटा मेसिन राखिएको थियो । पछि कोरोना काल ०७८ मा एउटा मेसिन थप गरिएको हो । जहाँकी पुरानै त्यही कम्पनीका तीन मेशिन चलिरहेकै अवस्थामा थिए । तर कमिशनका लागि नयाँ मेशिन खरीद गरियो । यसबारे त्यहाँ रहेका कर्मचारीसँग बुझ्दा उनीहरुले समेत अनभिज्ञता प्रकट गरेका छन् । नाम नबताउने शर्तमा एक कर्मचारीले पुरानै मेशिन चलिरहेको अवस्था थियो तर नयाँ किन राखिन लागिएको हो आफूलाई थाहा नभएको बताए ।

समाचार स्रोतका अनुसार कमिशनकै लागि मेसिन राख्ने ठाउँसमेतको बन्दोबस्त नभई मेसिन ल्याउने टेण्डर र मेसिन खरीद गरिएको खुल्न आएको छ । शवदाह गृहमा अहिले भएका ३ मध्ये दुइटा मेसिनले राम्रोसँग काम गरिरहेका छन् । रहेको अर्को मेसिन पनि मर्मत गर्दा चल्नेसक्ने अवस्थामा छ । अहिलेको भवनमा थप एउटा मेसिन राख्न सकिने भए पनि बाँकी ३ मेसिन राख्न नयाँ भवन बनाउनु पर्नेछ । भवन कहाँ बनाउने भन्ने पनि टुंगो नलागेको अवस्थामा थप मेसिन खरीद गर्नुको कारण आफूलाई थाहा नभएको कोषका एक अधिकारीले भने ।

पशुपति विकास कोषलाई महानगरको सहयोग

यसअघि पनि महानगरका प्रमुख विद्यासुन्दर शाक्यको पालमा शवदाह गृह निर्माणमा पनि महानगरपालिका र पशुपति क्षेत्र विकासकोषबीच सम्झौता भएको थियो । महानगरपालिकाले वार्षिक बजेटमार्फत तीन वटा गृह निर्माण गर्ने गरी १५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
शवदाह निर्माण र सञ्चालनका लागि भएको सम्झौतापत्रमा महानगपालिकाका तर्फबाट प्रमुख शाक्य र कोषका तर्फबाट सदस्य सचिव डा. प्रदीप ढकालले हस्ताक्षर गरेका थिए । महानगरपालिकाले निर्माणका लागि तीन किस्ता र मेशिन खरिदका लागि एकमुष्ट रुपमा रकम उपलब्ध गराउने सम्झौता भएको थियो ।

आस्थामाथिको प्रहार

पछिल्लो समय आस्थाका हिसावले पनि हिन्दु धर्मविरोधीहरुले हिन्दु आस्थाका धार्मिकस्थल, मठमन्दिरविरुद्ध यति प्रहार हुन थालेका छन् ।जसको उदाहरणका रुपमा पछिल्लो समय हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको नियुक्तिलाई लिन सकिन्छ । भलै उच्च अदालतले उनको नियुक्ती तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको अवस्था छ ।
केही समय अघि पर्यटनमन्त्री किराँतीको विवादास्पद अभिव्यक्ति आउनु पनि त्यसकै उपज हो । उनले खुलेरै क्रिश्चिय धर्मको प्रचार गर्दै हिन्दुधर्मावलम्बी माथि छुद्र बचन बोलेका थिए । हिन्दुधर्मावलम्बीमाथि अनादर हुने खालको अभिव्यक्तिको चौतर्फी विरोध र आलोचनासमेत भएको थियो । उनकाे राजीनामा माग्दै सडक आन्दाेलनसमेत भएका थिए ।

मन्त्री किराँतीको मिडियामा स्टन्ट चलाएर भित्रभित्र कमिशनमा लिप्त भएको कर्तुत खुलेको छ । पशुपति क्षेत्र विकास कोष हरेक निर्णयमा हालका मन्त्री सुदन अघिल्ला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले भन्दा भिन्न देखिएका छन् । कोषका सदस्य सचिवसहित केही अधिकारीसँगको मिलेमतोमा आफू पायक निर्णय गराउन उनी चाहन्छन् । यसकाे सहजताका लागि पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा समेत आफू अनुकूलका मानिस राखेका थिए ।

केहि अघि संसद बैठकमै प्रेमबहादुर आलेले अघिल्लो वर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यसपालि पशुपतिनाथमा छिरेर बहुमूल्य सम्पत्ति चोर्दासमेत पर्यटनमन्त्री र कोषका अध्यक्ष निदाएर बसेको बताएका थिए । उनले प्रतिवेदन लुकाएर चोरलाई संरक्षण गरिएको समेत बताएका थिए । ’संरक्षित चोरले बल पायो। ०८९ चैत १४ गते चोरी ग-यो। ०८० जेठ २९ गते तार काट्यो। त्यहाँबाट घ्याम्पे दानपेटिका हरायो। बहुमूल्य सम्पत्ति चोरियो,’ आलेले भनेका थिए ।

उनले पशुपति क्षेत्रको ३१ रोपनी जग्गा बिचौलियाले अपचलन गरेको बताउँदै गोठाटारको ५३५ रोपनी जग्गामध्ये ५०४ रोपनी मात्र कायम गरेर ३१ रोपनी जग्गा विचौलियासँगको मिलेमतोमा अपचलन गरिएको र त्यही जग्गा अपचलनमा मुछिएका विचौलियालाई कोषको सदस्यमा नियुक्ति दिइएको बताएका थिए ।

साथै सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री किराँतीले नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झुठो बोलेको आरोप लगाएका थिए ।