काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइदिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गरेका छन् ।
मंगलबार मन्त्री बस्नेतलाई पत्र लेखी मेयर साम्पाङले प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई उपचार सेवा प्रभावित भएको, पठनपाठन र परीक्षासमेत ठप्प भएको भन्दै कायम मुकायम उपकुलपतिलाई उपस्थित गराएर निकासका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।
कार्कीले कार्यकारिणी समितको बैठक डाक्न नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्नुपर्नेमा लुकिछिपी बसेको मेयर साम्पाङले पत्रमा उल्लेख गरेका छन् ।
कार्कीले हाल आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका कामु उपकुलपतिको सम्पूर्ण अधिकारी फिर्ता लिएको तथा आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाउनेजस्ता अराजक गतिविधि गरेको मेयर सम्पाङको भनाइ छ ।
प्रतिष्ठानमा भएको आन्दोलनका कारण ओपिडी सेवा बन्द हुँदा बिरामीको उपचार प्रभावित भएको छ । यस्तै, प्रतिष्ठानमा हुँदै गरेको पठनपाठन र परीक्षासमेत ठप्प भएको छ । मेयर साम्पाङले तत्काल प्रतिष्ठानको कामय मुकायम उपकुलपति प्राडा। कार्कीलाई तुरुन्त उपस्थित गराई समस्या समाधान गर्न भन्दै पत्रमार्फत स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका छन् ।
प्रतिष्ठानमा बढुवा विवाद चर्किंदै गर्दा बिदामा बसेका कामु उपकुलपतिको विषयमा धरानमा क्रियाशील रहेका राजनीतिक दलहरूले समेत प्रश्न उठाएका छन् । धरानमा क्रियाशील प्रमुख पाँच राजनीतिक दलका प्रतिनिधिहरूले संयुक्त वक्तव्य जारी गर्दै प्रतिष्ठानमा भइरहेको क्रियाकलाप नियालिरहेको बताएका थिए ।
दलहरूले आफूहरूको समेत उपस्थितिमा भएको बढुवासम्बन्धी सम्झौता कार्यान्वयन गर्न गराउन आग्रहसमेत गरेका छन् । दलहरूले आन्दोलनको कारण दैनिक स्वास्थ्य लगायतको सेवा अवरुद्ध नगर्न चेतावनीसमेत दिएका थिए ।
पछिल्लो केही दिनदेखि बीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीले केही माग राखेर आन्दोलन गरिरहेका छन् । मेयर साम्पाङले सोमबार कार्कीको कार्यकक्षमा आफैँ पुगेर ताला समेत लगाएका थिए । तालाबन्दीपछि मेयर साम्पाङले राजीनामा नदिए घिसारेर निकाल्ने चेतावनी समेत दिएका थिए।