काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा त्रिशुली नदीमा बत्ती बलेको देखिएपछि गोताखोरको टोली परिचालन गरिएको छ ।
मंगलबार बिहानै गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेको मुग्लिन प्रहरीले जनाएको छ ।
मुग्लिन प्रहरीका अनुसार बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । तर उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन ।
नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको प्रहरीले बताएको छ । तर, त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि यकिन नभएको प्रहरीको भनाइ छ ।