बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

शुक्रबार, पुष २७ २०८०

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा कमल गाउँपालिका–१ सरणपाडा बस्ने २८ वर्षीय सन्देश पाठकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौं तर्फ आउँदै गरेको प्रदेश–१–००१ ख ३८४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका–१० धुलावारी बस्ने ४६ वर्षीय मोहन राजवंशी र उनकै श्रीमती ३६ वर्षीया दिल कुमारी राजवंशी रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१५ प ८८११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकी मुनीको भागमा लुकाई राखेको उक्त पदार्थ फेला पारी स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ कैलालीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय २० मिलिग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय संजय चौधरी र गौरीगंगा नगरपालिका–८ बस्ने २९ वर्षीय हरिश चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका–१३ संगमटोल बस्ने २३ वर्षीय सागर परियारलाई अवैध लागूऔषध गाँजा २ किलो ८ सय ६५ ग्राम, फेनरागन ६ एम्पुल, डाईजेपाम ५ एम्पुल, नुर्फिन ५ एम्पुल र नगद ६ हजार १ सय १५ रूपैयाँसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६१ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय अशोक कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–१४ कोलटाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय ७० मिलिग्रामसहित रूपन्देही तिलोत्तमा नगरपालिका–२ बस्ने २८ वर्षीय रवि सोम मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौं तर्फ जाँदै गरेको लु.२ ख ६५७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।