सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट अलग 

बिहिबार, पुष २६ २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टोलीबाट अलग भएको घोषणा गरेका छन्।

बलात्कार मुद्दामा दोषी ठहर भएसँगै नेपाल क्रिकेट संघ (क्यान) लाई एक पत्र लेख्दै लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेर सन्दीपले लेखेको पत्रमा सन्दीपले आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका छन् ।

‘तपाईँलाई थाहा छ, म आफ्नो जीवनको कठिन समयबाट गुज्रिरहेको छु । म मेरो जीवन, क्यारियर र मेरो भविष्यको परीक्षामा छु’, सन्दीपले पत्रमा भनेका छन्, ‘मैले अनुसन्धान र न्यायिक प्रक्रियाका सबै चरणमा सहयोग गरेँ र अन्ततः काठमाडौँ जिल्ला अदालतले मलाई दोषी ठहर गरेको छ । मैले न्यायालयको निष्पक्षतामाथि सधैँ भरोसा गरेको छु, र मेरो विश्वास अपरिवर्तित र बलियो रहनेछ, यद्यपि घटना वास्तविकताभन्दा धेरै टाढा छ। न्यायको आशा गरिरहेको छु।’

क्रिकेट टोलीबाट बाहिरिने निर्णय गरेका सन्दीपले आफू न्यायका लागि उच्च अदालत जाने पनि बताएका छन् । ‘मलाई थाहा छ कि म निर्दोष छु । तर, देशको कानून र हाम्रो न्याय प्रणालीप्रति मेरो गहिरो सम्मान छ र मसँग फैसला स्वीकार गर्नुको विकल्प छैन, यो विश्वासले मलाई कुनै पनि तरिकाले खेलिरहन नैतिकताले दिँदैन । तसर्थ, अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिममा दिएको जर्सीमुनि खेल्नबाट म अलग भएको छु । क्यानले मेरो यो रिक्युजल (खेलबाट अलग हुने) को स्थिति बुझ्ने छ’, सन्दीपको भनाइ छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्षको कैद सजाय सुनाएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले लामिछानेलाई आठ वर्षको कैद सजाय सुनाएको हो । लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम कसुर गरेको अदालतले यसअघि गरेको ठहरपछि बुधबार सजाय सुनाएको हो ।

जिल्ला अदालतले पुस १३ गते उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । ‘प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाका दिनको क्रियाकलापको घटनाक्रम समेतले विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला २६ का बीचमा करणी भएको देखियो,’ फैसलामा लेखिएको छ, ‘१८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर छ ।’

नाबालिग बलात्कार गरेको आरोपमा गौशाला-२६ ले लामिछानेविरुद्ध गत वर्ष भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

तर, अदालतले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको ठहर गरेको छ । काठमाडौंको गौशालास्थित एक होटलमा लगेर बलात्कार गरेको आरोपमा पीडितले उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो ।