सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

जीबी–रवि कनेक्शन कथा

ठगी भएको जानकारी पाएपछि सुकिलो देखिन राजनीतिमा हाम फालेका रविका लागि जीवी पक्राउ पर्नु दुखद समय हुने आँकलन गरिएको छ। शेयर फिर्ता दिनुअघिको ठगी प्रकरणका प्रमाणले रविको राजनीतिसँगै रास्वपामा भूकम्प जाने देखिन्छ

सोमबार, पुष २३ २०८०

काठमाडौं– गत महिना प्रवासी संगठन विस्तारका निम्ति मलेसीया हुँदै युकेसम्म पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भूमिका शंकास्पद देखिएको छ। ५२ करोड ठगीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनमा लगानी भएको र त्यसको अनैतिक लाभमा सञ्चालक जीबी राईको प्रमुख भूमिका रहेको देखिएपछि उनी भागेर मलेसीया पुगेको बताइन्छ।

ठगीका निम्ति तयार पारिएको नेचर हर्ब भन्ने कम्पनीको कार्यालय समेत रहेको र प्रहरीको डिफ्युजन नोटिसमा रहेका जीबीसँग रविको मलेसीयामा भेट भएको बताइन्छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सहितका विभिन्न निकायले जीबी भागेर मलेसीया पुगेको आशंका गर्नु र रविको मलेसीया भ्रमण हुनु बाघ कराउनु र बाख्रा हराउनु जस्तो नभएको बताइन्छ। यद्यपि, ग्यालेक्सी प्रकरणमा रविको कनेक्शन जीबीसँग सिधा रहेका प्रमाण आइरहेका छन्।

पोखरा, चितवन र बुटवलका सर्वसाधारणले जम्मा गरेको ५२ करोड ४५ लाख रुपैयाँ ग्यालेक्सी टेलिभिजन चलाउने नाममा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालकले अपचलन गरेको पुष्टि भइसकेको छ। त्यो सञ्चालक समितिको कार्यकारी भूमिकामा रवि रहेका थिए। किनभने उनले १५ प्रतिशत शेयरसहित प्रबन्ध निर्देशकको जिम्मेवारीसाथ अनेक सुविधा लिएका थिए।

स्रोतले भन्यो,‘त्यो लगानी कहाँबाट आयो, यो सुविधाको स्रोत के हो भन्ने जानकारी नलिई रवि लामिछानेले काम गर्छन् भनेर पत्याउनु मूर्खता हुन्छ। अहिले उनले छारो हाल्ने काम गरिरहेका छन्।’ त्यसो त सहकारी पीडितले बारम्बार जीबी राईलाई समातेर सहयोग गरिदिनका लागि रविलाई आग्रह गरेका थिए। यस प्रकरणमा आफ्नो नाम जोडिँदासम्म पानीमुनिको ओभानो बन्ने काममा रवि सक्रिय रहे पनि एक पटकसम्म जीवी राईको नाम लिएका छैनन्। सोही ठगी प्रकरणलाई बचाऊ गर्नका लागि रवि हतार–हतार उपप्रधान तथा गृहमन्त्री बन्न दौडिएको आरोप पनि लाग्न थालेको छ। अहिले टेलिभिजन बन्द छ, अध्यक्ष जीबी राई फरार छन् भने १५ प्रतिशत लगानीसहित प्रबन्ध निर्देशक बनेका रवि लामिछानेले सर्वसाधारणको बचतप्रति आफू उत्तरदायी नहुने दाबी गर्दै आएका छन्।

पोखराको सूर्यदर्शन सहकारीका १९ हजार बचतकर्ताको ३० करोड, साहारा चितवन सहकारीका ८ हजार बचतकर्ताको ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीका ८ हजार बचतकर्ताको १० करोड ७४ लाख रुपैयाँ विभिन्न मितिमा गोर्खा मिडियामा सारिएको तथ्य प्रमाण सतहमा आइसकेका छन्।
काठमाडौंको स्वर्णलक्ष्मी, वीरगन्जको सानो पाइला र नेपालगन्जको समानता सहकारी पनि बन्द भइसकेका छन्। तर, यी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा कति रकम सारिएको थियो भन्ने यकिन हुन बाँकी छ।

बुटवल मुख्य कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २०७७ असोज ११ मा १ करोड, माघ २९ मा २ करोड ४५ लाख र चैत १८ मा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियामा सारिएको थियो। त्यस्तै २०७८ वैशाख ५ मा १ करोड, वैशाख ९ मा ३० लाख, असार ४ मा १ करोड, असार २२ मा १ करोड ३ लाख ३६ हजार, असोज १३ मा ५० लाख रुपैयाँ, पुस १२ मा १ करोड ५० लाख रुपैयाँ सारिएको थियो।

यसबेला रवि ग्यालेक्सीका प्रबन्ध निर्देशकको जिम्मेवारीमा नै रहेका थिए। जब जीबी राई पनि सहकारी प्रकरणमा सरकारको छानबिनको दायरामा आउने सम्भावना देखियो अनि आफ्नो आडम्बर लोकप्रियतालाई देखाउँदै रवि राजनीतिमा हाम फाले।

‘त्यसबेला चुनावी सरगर्मी रहेका बेला अन्य पाटो भन्दा पनि चुनावी सुरक्षाको विषय महत्वको थियो। ठगीका विषयका उजुरी लिने काम मात्र भएको थियो’, सुरक्षा स्रोतले भन्यो,‘अहिले भने निरन्तर उजुरी आउने र पीडित पनि आन्दोलनमा नै उत्रिने स्थितिमा खोजी गर्नु स्वभाविक भयो। केही फरार छन्, तिनलाई पक्राउ गरी ल्याउने तयारीमा प्रहरी छ।’
यस प्रकरणमा जीवी राई पक्राउ गरी अनुसन्धान गरेपछि रविको कति हिस्सेदारी या सहभागीता छ भन्ने विषयको स्पष्ट खुलासा हुने बताइन्छ।

आजको अमृत बजार साप्ताहिक बाट …..