बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ

सोमबार, पुष २३ २०८०

चितवनको माडी नगरपालिका–२ घर भई भरतपुर महानगरपालिका–३ बेलचोकस्थित इनवेरियल कुखुरा मासु पसल संचालन गरी बस्ने ३४ वर्षीया दुर्गा अधिकारीलाई अवैध लागूऔषध गाँजा करिब १३ किलोसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अधिकारीले आफ्नै पसलमा गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–३ तिलकपुरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलो १ सय ४ ग्रामसहित बझाङ केदास्युँ गाउँपालिका–६ बस्ने ६३ वर्षीय नर बहादुर धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ शिवटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय २० मिलिग्रामसहित सोही नगरपालिका–१३ बस्ने शंकर राना समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही गाउँपालिका–५ हलन चोक बस्ने १९ वर्षीय बिशाल विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।