सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवार टुंगो लगाउन जुट्याे सत्तागठबन्धन

आइतबार, पुष २२ २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तागठबन्धनमा सिट बाँडफाँटको निर्णय लगत्तै उम्मेदवार टुङ्गो लगाउन सत्तारुढ दलहरु आआफ्नो तयारीमा जुटेका छन् ।

बालुवाटारमा माओवादी केन्द्रको बैठक सुरु भएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयको मुख्यसचिव श्रीराम ढकालले बताए ।

साथै नेपाली कांग्रेसको बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ । राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हाे । राष्ट्रियसभाको निर्वाचनका लागि भोलि सोमबार उम्मेदवार मनोनयन दर्ता हुँदैछ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरिसकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले छ, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ ।

बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ ।

मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ ।