काठमाडौँ – सहकारीको रकम हिनामिना प्रकरणमा जोडिपछि पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
पोखरा महानगरपालिका–९ नयाँबजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए। सहकारीका सञ्चालक मिलेर झन्डै २७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ।
जिल्ला अदालत कास्कीले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। न्यायाधिश ऋषिराम आचार्यको एकल इजालसमा ३ दिन निरन्तर सुनावाइ भएपछि मंगलबार आदेश जारी भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए।
आचार्यको इजलासले सहकारी ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सहकारी रजिस्ट्रारको प्रमुख भएको बखतमा पराजुलीले मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ।
स्याङ्जाको वालिङ नगरपालिका–११ धनपूरेका ५२ वर्षीय पराजुलीलाई गत बुधबार पर्वत प्रहरीले कुश्मा नगरपालिकाको कार्यकक्षबाटै पक्राउ गरेर कास्की प्रहरीलाई बुझाएको थियो।
सहकारीका अध्यक्ष रमण पौडेल र कार्यकारी अधिकृत किरण अधिकारी यसअघि नै पुर्पक्षका लागि थुनामा छन्।
कात्तिक ४ पक्राउ परेका अध्यक्ष पौडेल र कार्यकारी अधिकृत अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका छन्।
मित्रमिलन सहकारी प्रकरणमा पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा पत्रकार अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुलीलगायतलाई पक्राउ ३२ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।