काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्।
सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भुमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा एमालेका सांसद रघुजी पन्तले सरकारका दुई मन्त्रीले खुलेआम घुस उठाएर भ्रष्टाचार गरिरहेको बताएका थिए ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद पन्तले भ्रष्टाचारी मन्त्रीलाई क्याबिनेटमा राखेर प्रधानमन्त्रीले सामान्य कर्मचारीको करिअर सिध्याउन निलम्बन र जिम्मेवारी खोसेर तान्ने कार्य गरेको दाबी समेत गरे ।
पन्तले श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले खुलेआम पैसा उठाएर भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण तालिम शुल्क ८ सयबाट बढाएर २८ सय पुर्याउँदा एजेन्सीहरूबाट करोडौं पैसा एकमुष्ठ उठाएर मन्त्रीलाई बुझाइएको बताए ।
साथै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाहीको कारणले बालकुमारी घटना भएको दाबी गरेका थिए। बैठकमा उनले मन्त्री ज्वालाको त्यस बेला गतिविधिको छानबिन गर्न समितिलाई माग समेत गरेका थिए ।
‘त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै त्यो जबर्जस्ती हो । चरम लापरबाही हो हेपेको हो । मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना केटाहरूको ज्यान भन्ने लाग्छ । यो समितिले मन्त्रीज्यूको त्यो हेर्छ कि हेर्दैन ।’ उनको भनाइ थियो ।
आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड उत्तेजित बनेको र त्यसमा सवार मन्त्री ज्वाला प्रदर्शनकारीसँग सवालजवाफमा उत्रिएपछि गाडीमा आगजनी भएको थियो ।
गाडीमा आगजनी भए पश्चात गोली चलाइएको सुरक्षा सम्यन्त्रले दाबी गरेपनि त्यो झुटो भएको देखिएको छ । सार्वजनिक भिडियोहरुमा पहिला प्रदर्शनकारी माथि गोली चलेपछि उत्तेजित भिडले मन्त्री सवार गाडी जलाइदिएको देखिन्छ । पहिले गोली या पहिले गाडी जलाइयो भन्ने विषयको निर्कोल संभवत जाँचबुझ आयोगले भोलि छानबिन गर्ला ।
सुरक्षाकर्मीले चलाएको गोली लागि वीरेन्द्र शाह र सुजन राउतको ज्यान गएको थियो। श्रममन्त्रीले समस्यालाई समयमै सुल्झाउन नसक्दा युवाहरू त्यसरी आन्दोलित हुनुपरेको आरोप लागेको छ ।
दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) मा सिप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजारमध्ये केही युवाले शुक्रबार इपिएस शाखा कार्यालय ग्वार्कोनजिक आन्दोलन गरिरहेका बेला मन्त्री ज्वाला त्यही बाटोबाट झन्डावाला गाडीमा सवार भएका थिए।
आन्दोलन भएको सडकमा मन्त्री ज्वाला झण्डा हल्लाउँदै किन पुगे भन्ने एकाथरीले आलोचना गर्न थालेका छन् । तर उनले आफूलाई त्यसबारे जानकारी नै नभएको र सुरक्षाकर्मीले खबरसमेत नगरेको भनेर जोगिने प्रयास गरिरहेका छन्।
‘मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवालजवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ। त्यसपछि आर्मीले मन्त्रीजीलाई पार्टीको बैठकस्थलमा पुर्याएको रहेछ। इपिएसका कर्मचारी पनि जिम्मेवार बनेको देखिएन,’ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य व्यवस्था समितिमा बताएका छन्।
गृहमन्त्रीको यस्तो भनाइका कारण मन्त्री ज्वालामाथि पदमा बसिररहन नैतिक संकट उत्पन्न भएको छ। तर उनी सोमबारसम्म पनि प्रस्टीकरण दिँदै हिँडिरहेका छन्।
पुस १३ गते शुक्रवार इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा २ जना नेपाली नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिने संसदीय समितिले निर्णय गरेको छ ।
उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालयमन्त्रीको भुमिकाको बारेमा शुद्ध छानबिन गर्न र यस प्रकारका घटना अब आइन्दा नहोस् भनि सबै पक्ष सजग रहन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कर्यालय र गृह मन्त्रालयलाई पनि समितिले निर्देशन दिएको छ ।
बालकुमारी घटनाबारे ओलीको प्रश्न : मन्त्री हुलमा गाडी लिएर किन जानुपरेछ ?
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारी घटनाबारे मन्त्री हुलमा गाडी लिएर किन जानुपरेछ ? भनेर प्रश्न गरेका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली काँग्रेसले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री जिम्मेवार रहेको बताए । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको ओलीको भनाई थियो ।
उनले भने, ‘मान्छे मारिए किन ? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानु परेको रु नगई नहुने त्यहाँ के प-यो ? हुलमा गएर निहुँ खोजेर उत्तेजित बनाएर गोली चलाएर मान्छे मारिएको छ । यो सहज र सजिलो कुरा हो ? ’