काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
पूर्व एआईजी अरुण बिसी र गृहका सहसचिव नारायण प्रसाद भट्टराई आयोगमा सदस्य रहेका छन् ।
घटनामा भएका कमीकमजोरीहरूको अध्ययन र घटनासँग सम्बन्धित व्यक्ति तथा निकायहरूको भूमिकाको अध्ययन गरी आयोगले प्रतिवेदन बुझाउने छ ।
एक महिनाको समय दिइएको आयोगलाई घटनामा जो दोषी देखिए पनि कारबाहीका लागि सिफारिस गर्न कार्यादेश दिइएको छ ।
यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन भइसकेको छ ।
शुक्रवार दिउँसो ईपीएस परीक्षाका विषयमा भएको प्रदर्शनका क्रममा जुम्लाका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
पानी जहाज निर्माण क्षेत्रतर्फ भाषा परीक्षा दिएर असफल भएकाहरुले उत्पादनमूलक क्षेत्रतर्फ पनि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।
आक्रोशित भिडले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएको थियो ।