सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

बालकुमारी घटनाको छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग बनाउने

सोमबार, पुष १६ २०८०

काठमाडौं । बालकुमारी घटनाको न्यायिक छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग बनाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोग गठनका लागि प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन्। उनले जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व-न्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

उनका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्नेछ । सोमबार मन्त्रिपरिषद् बैठकबाट गठन हुने उच्चस्तरीय जाँचबुझ आयोगले सोमबारदेखि नै काम थाल्नेछ ।

शुक्रबार ललितपुरको बालकुमारीमा कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबीच धरपकड हुँदा दुई युवाको ज्यान गएको थियो ।

प्रदर्शनमा दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

सरकारले तत्कालै नेपाल प्रहरीका डिआइजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । तर, घटनामा मृत्यु भएका युवाका आफन्त र सरोकारवालाले भने त्यस्तो छानविन समिति नस्वीकार्ने बताएपछि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने भएको हो । उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै पीडितका परिवारले शनिबारदेखि सुर्खेत लगायत विभिन्न स्थानमा प्रदर्शन नै थालिसकेका छन् ।

घटनाका विषयमा चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री दाहालले पूर्व-न्यायाधीशको अध्यक्षतामा आयोग बनाउन तयार भएका हुन्। सरकारले मृत्यु भएका दुई युवाका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ । पीडितका आफन्तले शनिबार बेलुका प्रधानमन्त्री प्रचण्डलाई भेटेर उच्चस्तरीय जाँचबुझ आयोग गठनसहित ८ बुँदे मागपत्र बुझाएका थिए ।

पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुत्तीर्ण भएका युवाहरूले उत्पादनमूलक कामका लागि पनि भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै युवाहरूले ग्वार्कोस्थित इपिएस कोरिया शाखाको बाहिर प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा दुई जनाको ज्यान जानुका साथै भौतिक पूर्वाधार मन्त्रालयको गाडीमा समेत आगजनी गरिएको थियो ।