सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

सरकारको चौतर्फी आलोचनापछि प्रधानमन्त्रीले लिए बालकुमारी घटनाबारे ब्रिफिङ

शनिबार, पुष १४ २०८०

काठमाडौं। ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् ।

शुक्रबार दिउँसो भएको घटनाका बारेमा प्रधानमन्त्री दाहालले सरकारी निवास बालुवाटारमा बोलाएर शनिबार बिहान घटनाको बारेमा ब्रिफिङ लिएका हुन् ।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुवँर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए ।

प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानविन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताए ।

हिजो दिउँसो कोरियाको इपिएस प्रणालीका विषयलाई लिएर बेरोजगार समूहले भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओरालेर उनको सवारीमा आगजानी गरेका थिए ।

प्रदर्शनकारीले आगजानी गरे पछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि चलाएको गोली लागेर तथा कुटपिटबाट दुई बेरोजगार युवाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । जसको अहिले चौतर्फी आलोचना भईरहेको छ ।

यसबीच बालकुमारी घटनाका दोषीलाई फौजदारी अभियोजन दर्ता गर्न नागरिक समाजले माग गरेको छ ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफ्ना नागरिकको रक्षा गर्ने दायित्व बोकेको राज्यले निहत्था नागरिकको हत्या गर्न नमिल्ने बताएका हुन् ।

उनीहरुले दुवै पक्षबाट गोली चलेको भए राज्य संयन्त्रलाई गोली चलाउन छुट रहेपनि निहत्था नागरिकमाथि सरकारले कुन आधारमा गोली चलाएको हो भन्नेकुराको छानबिन हुनुपर्ने बताएका छन् ।