काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिट निवेदन सुनुवाइका लागि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पेशी तोकिएको छ ।
अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको थियो ।
अधिवक्तात्रय दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट निवेदन दर्ता गरेका हुन् ।
रिटमा मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।
निवेदकहरुले गर्भनर अधिकारी उक्त पदका लागि योग्य नरहेको जिकिर गर्दै शैक्षिक योग्यता नपुगेको दाबी गरेका छन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा व्यवस्था भए बमोजिम गभर्नरका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको र गर्भनर अधिकारीको योग्यता नरहेकाले निवेदकहरुले नियुक्ति बदरको माग गरेका छन् ।
गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्रै रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिट निवेदकहरुको दाबी छ। गभर्नर अधिकारीको नियुक्तिविरुद्ध यसअघि पनि अदालतमा रिट परेको थियो । तर, सो रिट सर्वोच्चले दरपिठ गरेको थियो ।
अधिकारी २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । उनको नियुक्तिलाई लिएर यसअघि पनि विभिन्न प्रश्नहरु उठ्दै आएको छ ।