काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेका छन् ।
उनले यसअघि बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरानलाई संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए ।
‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।
गैरदलीय उम्मेदवारी दिएर धरानमा मेयर जितेका साम्पाङले केही दिनयता संघीय सरकारविरुद्ध कडा शब्दमा स्टाटस लेख्दै आएका छन् ।
कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर हटाएकोमा धरानका राजनीतिक दलहरुले संयुक्त बक्तव्य जारी गर्दै मेयर साम्पाङको कदमप्रति आपत्ति जनाएका छन् ।