आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

संसदीय समितिले अघि बढायो एआइजी ज्ञवालीको जन्ममिति विवाद प्रकरणमा छानबिन

शुक्रबार, मंसिर १ २०८०

काठमाडौं – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति विवाद प्रकरणमा संसदीय समितिले छानबिन अगाडि बढाएको छ ।

एआइजी ज्ञवालीको जन्ममिति विवादबारे उजुरी परेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन शुरु गरेको । शेरबहादुर चन्दले दिएको उजुरीमा उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरी भ्रष्टाचारजन्य काम गरेको ज्ञवालीमाथि आरोप लागेको छ ।

उजुरीमाथि प्रक्रिया अगाडि बढाउँदै राज्य व्यवस्था समितिले सात दिनभित्र सत्यतथ्य विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको छ । ‘जन्ममिति फरक परेको विवादमा के भएको हो, किन छानबिन नभएको हो, सत्यतथ्य सबै विवरण उपलब्ध गराउन अनुरोध छ,’ समितिले गृहलाई गरेको पत्राचारमा भनिएको छ ।

समिति सभापति रामहरि खतिवडाले गृह मन्त्रालयबाट जन्ममिति विवादबारे फाइलसहितको विवरण प्राप्त भएपछि छानबिन प्रक्रिया अघि बढ्ने बताए । गृहबाट कागजात आएपछि समितिमा छलफल हुने र सत्यतथ्य बुझेर प्रमाणका आधारमा समिति निर्णयमा पुग्ने उनले जानकारी दिए । ज्ञवालीविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उमेर विवादकै उजुरी परेकोमा सफाइ पाएका थिए । आयोगले गत वैशाखमा नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नदेखिएको ठहर गर्दै उजुरी तामेलीमा पठाएको थियो ।