काठमाडौं- सिरहाको गोलबजार नगरपालिका–६ राधाकृष्ण मन्दिर टोल बस्ने ३७ वर्षीय दुर्गेश कुमार साहको कपडा गोदाममा बुधबार राति आगलागी हुँदा गोदामभित्र रहेका लत्ताकपडा समेत जलेर करिब १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । बिद्युतको तार सर्ट भई गोदाममा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बेश क्याम्प गोलबजारबाट खटी गएको टोलीले स्थानिय र दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।
रोल्पाको रोल्पा नगरपालिका–१० गापा बस्ने ७१ वर्षीया रति सुनारको घरमा विद्युत सट भई बुधबार दिउँसो आगलागी हुँदा लत्ताकपडा लगायत सामान जलेर नष्ट भएको छ । हाल क्षतिको विवरण खुलेको छैन ।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१० टोटि बस्ने ६९ वर्षीय रमेश कामीको भान्सा घरसँगै जोडिएको गोठमा बुधबार दिउँसो आगलागी हुँदा भान्सा घर तथा गोठ र सोही ठाउँ बस्ने ५० वर्षीय तिर्थ कामीको गोठसँगै राखिएको ३ बिगाह जमिनको पराल जलेर दुवै जनाको गरी करिब ३ लाख रूपैयाँ बरारबरको धनमाल नष्ट भएको छ ।
नुवाकोटको बिदुर नगरपालिका–४ बिदुरस्थित सोही नगरपालिका–४ बस्ने ठाकुर प्रसाद खतिवडाले संचालन गरेको हार्डवयर पसलमा विद्युत सर्ट भई बुधबार राति आगलागी भएको छ । हाल आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । कास्कीको पोखरा महानगरपालिका–२९ घोतघोतेस्थित अपाङ्ग मैत्री समाज दृष्टि विहिन आश्रममा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा घर, लत्ताकपडा र फर्निचरको सामान जलेर नष्ट भएको छ । हाल आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन ।
कपिलवस्तुको यसोधरा गाउँपालिका–७ इटवा बस्ने राधेश्याम पासीको घरमा विद्युतको तार सट भई बुधबार राति आगलागी हुँदा नगद ६० हजार, अन्नपात, लत्ताकपडा, गरगहना समेत जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा, अन्य सुरक्षा निकाय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।