आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडौँ उपत्यका लगायत प्रमुख शहर उज्यालोले झिलिमिलि

सोमबार, कार्तिक २७ २०८०

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन हिजो साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी श्रद्धा भक्तिसाथ लक्ष्मीपूजा पर्व मनाइएको छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । बेलुकी औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय नियम रहेकाले आइतबार गर्ने गरी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाई पूजा गरिने परम्परा छ ।

दीपमालिकासमेत गरेर मनाइने पर्वमा दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास समेत रहेको छ ।

घरका अलावा व्यापारिक प्रतिष्ठानमा पनि आज विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यका लगायत प्रमुख शहर उज्यालोले झिलिमिलि बनेको छ । उज्यालोले घरबाहिरको वातावरण नै आज उल्लासमय बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल देखिएको छ । यसैले आजको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर पर्ने चार प्रमुख रात्रिमध्ये यो पनि एक रात्रि हो ।