आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

उपरथी पाण्डेको राजीनामा पत्र जंगी अड्डाले रक्षा मन्त्रालय पठायो

शुक्रबार, कार्तिक २४ २०८०

काठमाडौं – नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा पत्र जंगी अड्डाले स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पठाइएको छ । नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामाको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नका लागि रक्षा मन्त्रालयमा पठाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने र अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृत हुने बताइएको छ । रक्षा मन्त्रालयका कर्मचारी प्रशासन शाखाका प्रमुख रामेश्वर पोखरेलले पाण्डेको राजीनामा पत्र मन्त्रालयमा आइपुगेको जानकारी दिए । अब उक्त राजीनामा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गर्न सक्छ ।

पाण्डेले जागिर खान र रथी बढुवा भएर भावी प्रधान सेनापति बन्ने लाइनमा बस्न एसएलसी परीक्षाफलको ढड्डामै केरमेट गरेको पाइएको थियो । रथी बढुवामा सिफारिसका लागि सार्वजनिक सूचनापछि विवादमा परेका उपरथी पाण्डेले हिजो राजीनामा बुझाएका थिए । उमेर कीर्ते प्रकरणमा जंगी अड्डाले छानविन समिति गठन गरेपछि पाण्डेले बिहीबार साँझ राजीनामा दिएका हुन् ।

प्रधान सेनापति प्रभुराम शर्मा पाण्डेलाई नै रथीमा बढुवा गर्ने पक्षमा उभिए पनि बलाध्यक्ष रथी सीताराम खड्काले बढुवा समितिमा असहमति जनाएका थिए । बढुवा सिफारिस सूचनापश्चात उनले नागरिकता नागरिकतामा उमेर कीर्तेबारे प्रधानमन्त्रीले चासो राखेका बेला प्रधान सेनापति प्रभुराम शर्मा नै पाण्डेको संरक्षणमा लागेका थिए ।

प्रधान सेनापति शर्माले भने सेनामा यस्तो विवाद धेरै अघिदेखि नै रहेको र हालै अवकाश पाएका रथी सरोजप्रताप राणाको ३ वटा नागरिकता रहेको भन्दै पाण्डेको पनि यस्तै विवादमा पहिले नै समाधान भइसकेको बताउँदै आएका थिए । प्रधान सेनापतिको रहस्यमय जोडबलकै कारण ताराध्वजको उमेर कीर्तेको प्रकरण सामसुम पार्न खोजिए पनि पाण्डे स्वयंले आफ्नो कर्तुत खुल्ने भयले राजीनामा दिएको सैनिक स्रोत बताउँछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले समेत गम्भीर रूपमा लिएको उजुरीको किनारा नलाग्दै पाण्डेलाई रथीमा बढुवा गर्न खोजिँदै थियो । २०३८ साल देखि २०४२ साल चैत्रसम्म २०२१÷१०÷१२ गते जन्ममिति भएका पाण्डेले जागिर खाने बेला एसएलसी पास गरेको ४ वर्षपछि जन्म मिति सच्याएर २०२३ माघ २३ को मिति राखेर अर्को नागरिकता लिएका थिए ।

शैक्षिक प्रमाणपत्रमा पनि ६ महिनाभित्र उमेर सच्याइसक्नुपर्नेमा पाण्डेको हकमा ४ वर्षपछि ढड्डामै केरमेट गरेर सच्याइएको थियो । पाण्डेले २ वटा नागरिकता बनाएको प्रमाण पनि सार्वजनिक छन् । नागरिकताको नम्बर समेत (ना.प्र.नं. ३६०८६ र १६८१–१६०८६) दुईवटा हुनु स्वतः कीर्ते हो । उनीमाथि सरकारी कीर्तेको मुद्दा समेत चल्न सक्ने बताइएको छ ।