काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालको आह्नानमा सिंहदरबारमा गणतन्त्रवादी दलका नेताहरुको बैठक बसेकोबारे टिप्पणी गर्दै महामन्त्री थापाले शीर्ष नेताहरुले देशका लागि यो व्यवस्थामा गर्न सक्ने र दिन सक्ने सबै योगदान दिइसकेको बताएका छन् ।
उनले यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न शीर्ष नेताले निभाएो भूमिका महत्त्वपूर्ण रहेको बताउँदै इतिहासले सधैँ सम्झिने समेत बताएका छन् ।
‘अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’ उनले भनेका छन् ।
उनले अहिलेको व्यवस्थालाई बलियो बनाउन सबै शीर्ष नेताहरु एकजुट भएर गर्ने काम भने सक्रिय राजनीतिबाट विश्राम लिने मात्रै रहेको दोहोर्याएका छन् । शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिँदा इतिहासले श्रद्धापूर्वक सम्झने र गणतन्त्रविरुद्ध उठेका आवाज आफैं बिलाएर जाने उनको दाबी छ ।
‘यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् । इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ, सम्मान गर्नेछ । र, गणतन्त्रविरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन् । आम जनतामा व्यवस्थाप्रतिको विश्वास अझै मजबुत हुनेछ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।