आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राहत तथा उद्धारका लागि डाक्टर लिएर गाउँ पुग्यो एमाले

मंगलबार, कार्तिक २१ २०८०

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका पीडितहरुलाई राहत दिन नेकपा (एमाले) को टोली जिल्लाका दुर्गम गाउँ पुगेको छ ।

चिकित्सकसहितको टोलीले भूकम्प प्रभावितहरूलाई राहत प्रदान गर्दै मनोपरामर्शसमेत दिन सुरु गरेको टोलीका प्रमुख नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । जिल्लाका दूरदराजमा सरकारी टोली नपुगेको बेला चिकित्सकसहितको एमाले टोली पुगेको नलगाड नपगरपालिका–३ की यमुना पुनले बताइन् । शुक्रबारको विनाशकारी भूकम्पमा आफ्नो श्रीमान् गुमाएर विक्षिप्त अवस्थामा भएकी पुनले भूकम्प गएको तीन दिन बित्दासमेत गाउँमा आफूकहाँ आउने टोली एमालेको पहिलो भएको बताइन् ।

अनेरास्ववियूका केन्द्रीय सदस्यसमेत रहेका चिकित्सक डा सुरज कडरियासहितको टोलीले भूकम्प प्रभावितहरूको स्वस्थ्य परीक्षण गरेको एमाले केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।
शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर जाजरकोटमा १०५ जनाको मृत्यु भएको थियो । जिल्लाको नलगाड नगरपालिकामा मात्र ५१ जनाको मृत्यु भएको छ । यस्तै नलगाड–१ मा मात्र २५ जनाको ज्यान गएको एमाले नेता आचार्यले जानकारी दिए । विभिन्न निकायहरूसँगको समन्वयमा काठमाडौंदेखि राहत संकलन गरेर गएको एमाले टोलीले नलगाडका २६३ घरपरिवारलाई त्रिपाल, ब्लांकेट, चामल, दाल, तेल, चाउचाउ, बिस्कुट वितरण गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधि, नेकपा एमालेका स्थानीय कमिटीका पदाधिकारीहरूको रोहबरमा परामर्श, स्वास्थ्य परीक्षण र राहत वितरण गरेको टोलीले तीनै तहका सरकारका प्रतिनिधिहरूले जिल्ला सदरमुकाममा मात्रै केन्द्रित हुनुभन्दा गाउँका कुनाकाप्चामा भएका पीडितहरूकोमा पनि पुग्न आग्रह गरेको छ ।