बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जाजरकोटमा ९ मिनेटमा दुई भूकम्पको धक्का

सोमबार, कार्तिक २० २०८०

जाजरकोट : जाजरकोटमा आज ९ मिनेटको अन्तरालमा दुई भूकम्पको परकम्प गएको छ । सोमबार (आज) दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै त्यसको नौ मिनेटमा अर्को परकम्प गएको छ । मापन केन्द्रअनुसार ४ बजेर ४० मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्पको दोस्रो झड्का गएको छ । मापन केन्द्रकाअनुसार अर्को जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

गत शुक्रबार राति ६.४ म्याग्नेच्युटको भूकम्प गएपछि जाजरकोटमा लगातार परकम्प गइरहेको छ । शुक्रबारदेखि सोमबार बिहानसम्म एक सयभन्दा बढी परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । उद्दार जारी भइरहेकै बेला गएको पछिल्लो भूकम्पको धक्काले जाजरकोटबासीलाई तर्साएको हो ।

यसअघिको भूकम्पले आफन्त र घरबारविहीन बनेका पीडित आजको शक्तिशाली पराकम्पले झस्किएका छन् । शुक्रबारको भूकम्पपछि यहाँ पटक–पटक भूकम्पको पराकम्प गइसकेको छ । शुक्रबारको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको ज्यान गएको थियो भने दुई सय बढी घाइते भएका छन् । धेरै घरहरु भत्किएका छन् ।