आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चिउरी गाउँको कारुणिक दृश्य, तिहार मनाउन आएकासहित १४ व्यक्तिको सामूहिक दाहसंस्कार

सोमबार, कार्तिक २० २०८०

सुर्खेत । जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्णरुपमा र केही घर आशिंक रुपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका हुन् ।

खलङ्गाबाट डेढघण्टाको दूरीमा रहेको यो गाउँका बाँकी रहेका अन्य घर पनि बस्न नमिल्ने गरी चिराचिरा परेका छन् । यहाँका सबै घर ध्वस्त भइसकेका छन् । पीडित अविलाल विकले भने “हाम्रो यो गाउँमा अधिकांश दलित समुदाय बस्दै आएका थियौँ, वर्षामा समेत पहिरोले जोखिम पारेको हाम्रो टोललाई अस्ति आएको भूकम्पले स्वाहा नै बनायो ।”

अहिले यो टोलका सात सय व्यक्ति घरबारविहीन भएको उनले बताए । विकले भने, “हामी घरबारविहीन भयौँ आफन्त गुमायौँ, खानेकुरा घरमै पुरियो, लाउने कपडा पनि पुरियो, अस्तिदेखि भोकभोकै छौँ । केटाकेटी चिसोले हैरान भइसके ।”

उनी जस्तै चोचे गाउँका सबै व्यक्तिको पीडा त्यस्तै छ । उनीहरुले अब आफन्त गुमाए पनि बाँचेकाको लागि गाँस र बाँसको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।

चोचे टोलमा १४ जनाको मृत्यु

यो टोलमा भूकम्पमा परी १४ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

मृत्यु हुनेमा पाँच बालबालिका, सात २० वर्ष माथिका र अन्य दुईजना ज्येष्ठ नागरिक रहेको प्रहरीले बताएको छ । तेह्र जनाको भूकम्पमा परी घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो । मृत्यु भएका अधिकांश व्यक्ति भारतमा रोजगारीका लागि गएर फर्किएका थिए । उनीहरु तिहार मनाउन घर फर्किएकामा तिहार मनाउन नपाउँदै मृत्यु भयो ।

मृत्यु हुनेमा कसैले  ५ बर्सिय छोरा  गुमाएका छन् भने कसैले परिवारका ४ जना  सम्म। गाउँका अधिकांश घरमा मानवीय क्षति भएपछि आइतबार उनीहरुको सामूहिक दाहसंस्कार गरिएको छ । गाउँका सबै मिलेर शवहरुलाई भेरि नदी किनारमा ल्याएर सामुहिक दाहसंस्कार गरेका छन् ।
यस चिउरी गाउँमा  लगभग १००  घरधुरी छन्। यी मध्य अधिकाम्स घरमा बस्न नमिल्ने गरी भत्किएका छन्।शुक्रवार राति घटना भएपछि सबै गाउले केहि  पाल को जोहो गरि बारीमा बस्न बाध्य भएको छन्  ।

शुक्रबार रातिको भूकम्पले अहिले सम्म जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्‍चिममा ५२ जनाको मृत्यु भएको छ।  भूकम्पले ९ सय ३७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।