काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुकाे सम्पूर्ण उपचार नि:शुल्क गर्ने भएकाे छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।
‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको बताए ।
यस्तै बैठकमा भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुन निर्माणका विषयमा छलफल भएको छ ।
बैठकमा खाद्यान्न र बसोबासका लागि तत्काललाई व्यवस्थापन गर्ने आवश्यक सामग्रीहरू तीन भित्र घटनास्थलमा पुर्याएर कुनै पनि कुराको कमी हुने नदिने गरी सरकारले काम गर्ने उनले बताए ।
त्यसै गरी छिमेकी देशहरूले दिने सहयोगका विषयमा सरकारले मापदण्ड बनाएर लागू गरेपछि मात्रै लिने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।
२०७२ सालको भूकम्पको बेला काम गर्ने क्रममा भएका कमजोरीहरु सुधार्दै यसपटक काम गर्ने उनको भनाइ छ ।