काठमाडौं । उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन् ।
सो जहाजमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री एवं जाजरकोटका सांसद शक्ति बस्नेत, रुकुम पश्चिमका सांसद जनार्दन शर्मा उपचार सामग्री र स्वास्थ्यकर्मीसहित प्रभावित क्षेत्र जारकोटमा पुगेका छन् ।
सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ ।
त्यस्तै स्वास्थ्य र सामग्रीसहित नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज चौरहजहारी विमानस्थलतर्फ उड्ने तयारी गरेको छ ।
सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।