आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपाली सेनामा राजनीति द्वन्द्व: प्रचण्डलाई शेखरको चेतावनी !

आइतबार, असोज २८ २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय सुरक्षासँग जोडिएको नेपाली सेनामा राजनीतिक चलखेल नगर्न चेतावनी दिएका छन्।

सेना समायोजनका क्रममा नेपाली सेनामा प्रवेश गरेका पुर्वमाओवादी लडाकु यमबहादुर अधिकारीलाई प्रचण्डद्वारा दिएको पद थप गर्ने निर्णयप्रति विरोध गर्दै कोइरालाले सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने भन्दै चलखेल स्वीकार्य नभएकाे बताएका हुन्।।

उनले एक्स (ट्वीटर) मा लेखेका छन्, ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन। सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं। सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस्।’

माओवादीसहितको तत्कालीन केपी ओली नेतृत्वको मन्त्रिपरिषदले सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीलाई सहायक रथीको विशेष पद सिर्जना गरेर बढुवा गरेको थियो।

चार वर्षका लागि गरिएको बढुवा गत कात्तिक १ गते सकिने अवस्थामा माओवादीका पूर्व सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला उनको पद थप तीन वर्षका लागि थप्ने निर्णय गरेको थियाे।

सरकारको यस निर्णयप्रति नेपाली सेनाभित्र चर्को असन्तुष्टि देखिएको थियाे।