काठमाडौं । आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
छातीमा पीडा भएपछि उनलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको हाे ।
केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको थियो ।
चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ गरिएको हो ।
उनले सहमतिका लागि बोलाउँदासमेत नआएर प्रहरीले सकेको गरोस् भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । आइतबार म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
उनीसहित चलचित्रका अन्य कलाकारले गरेर निर्माणपक्षको कूल एक करोड बढी पैसा लगेको पाइएको छ । निर्माणकर्ताले यसरी रकम लिएर सम्झौता पनि नगरेको र छायाङ्कनमा पनि नआएको भन्दै जाहेरी दिएका बताइएको छ । अन्यका हकमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।