बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सारुकको आत्महत्या प्रकरणमा आफूविरुद्ध प्रहार भएको भन्दै नायिका नम्रताको गुनासो

मंगलबार, भाद्र १२ २०८०

काठमाडौं । सारुक ताम्राकार आत्महत्या प्रकरणमा आफूविरुद्ध एकतर्फी प्रहार गरिएको नायिका नम्रता श्रेष्ठले गुनासो गरेकी छन् । अभिनेत्री श्रेष्ठले अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको प्रकरणमा आफूविरुद्ध एकतर्फी रूपमा प्रहार गरिएको सामाजिक सञ्जालमार्फत गुनासो गरेकी हुन् ।

उनले केही मुठ्ठीभरका मानिसहरू आफूविरुद्ध हात धोएर लागेको पनि जिकिर गरेकी छन् । आफूलाई सारुकको आत्महत्याको मुख्य कारक ठहर गर्ने प्रयास गरिएको र आफूविरुद्ध गलत हल्ला फैलाइएको उनले गुनासो गरेकी छन् । उनले आफू क्यानडा नगएको तर मिडियामा क्यानडा भागेको भनेर गलत हल्ला फैलाइएको समेत बताएकी छन् ।

‘मेरो परिवार र हाम्रो कानुनी टिमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं, एकजना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला, सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ …मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु,’ उनले भनेकी छन् ।

सारुक ताम्राकारले आत्महत्या गरेपछि उनले काम गरिरहेको चलचित्र ‘माया’ की कलाकारसमेत रहनुभएकी नम्रतालाई नै कारक ठहर गर्नेगरी केही हल्ला बाहिरिएका थिए । केहीले सारुक र नम्रताको झगडा भएको समेत दाबी गर्ने गरेका छन् ।

उनले सारुकको निधनप्रति श्रद्धाञ्जलि दिँदै परिवारप्रति समवेदना व्यक्त गरेर आफ्नो कुरा सुरु गरेकी छन् । यस्तै, सारुकको आत्महत्याले आफूलाई अचम्मित तुल्याएको पनि बताएकी छन्। घटना केही समयअघिको भए पनि अहिले सामाजिक सञ्जालमार्फत् यसबारे बोल्न बाध्य भएको उनको भनाइ छ ।

अनुसन्धानमा असर पर्ने भएकाले आफू अहिलेसम्म मिडियामा नबोलेको भन्दै उनले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको बताएकी छन् । ‘तर यहाँ एकतर्फी रूपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे, त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ,’ उनले लेखेकी छन्, ‘आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित हुँदैन ।’

सारुकको डेढ महिनाअघि र सारुकका बुबाको शनिबार निधन भएको थियो । छोराको निधनबाट विक्षिप्त बनेका सानुको निधन भएको हो । सारुकको निधनपछि नम्रता विवादमा तानिँदै आएकी छन् । उनी सारुकसँग अफेयरमा रहेको र मृत्युअघि उनीहरूबीचको झगडा परेका जस्ता कुराहरू बाहिर आएका थिए ।