काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा नेताहरूको सम्पत्ति छानविन गर्न माग उठेको छ ।
पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरिसकेपछि बोल्न सुरु गरेका केन्द्रीय सदस्यहरूले माओवादीकै नेताहरूको सम्पत्ति छानविन गर्नुपर्ने माग गरेका हुन् ।
पहिलो दिन बुधबार बोलेका १८ जनामध्ये अधिकांशले पार्टी नेतृत्व भ्रष्टाचारविरुद्ध कठोर हुनुपर्ने बताउँदै सबै नेताहरूको सम्पत्ति खोज्नुपर्ने माग उठाएका छन् ।
केन्द्रीय सदस्य कृष्ण केसीले माओवादी नेतृत्वको सरकारले भष्ट्रचारको अभियोगमा विभिन्न व्यक्तिलाई पक्राउ तथा थुनामा राखेकोमा प्रशंसा गर्दै कतिपय थुन्नुपर्ने मान्छे नै पार्टी भित्र रहेको आरोप लगाए ।
उनले भने, ‘पार्टी भित्रकै नेतृत्वको २०४६ सालयताको सम्पत्ति छानबिन गर्नुपर्यो । कतिपय अकुत सम्पत्ति नै कमाएका नेता पार्टी भित्रै छन् । थुन्नुपर्ने मान्छे माओवादीभित्रै रहेकाले उनीहरुलाई खै थुनेको?’
केन्द्रीय सदस्य लक्ष्यराम आचार्यले पनि पार्टी नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर्न माग गरे । उनले भने, ‘हाम्रो पार्टी नेताको सम्पत्ति छानविन गर्नुपर्यो । भष्ट्राचारका भाषण गरेर मात्रै भएन । आफ्नै पार्टी र नेता कार्यकर्ताबाट सुरु गर्नुपर्यो ।’
अर्का केन्द्रीय सदस्य गोविन्द रोका ‘सचिन’ले पनि पार्टीको तर्फबाट राज्यका निकायमा पुगेका र लाभको पद ग्रहण गरिसकेका नेता कार्यकर्ताको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे । उनले भने, ‘विस २०६३ यता पार्टीको तर्फबाट राजकीय जिम्मेवारी वा विभिन्न लाभको पदमा बसेका नेता कार्यकर्ताको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ र आवश्यकता अनुसार राज्यको निकायद्वारा छानविन पनि गराउनुपर्छ ।’
उनले पार्टी तथा जनवर्गीय संगठनका हरेक तहका कमिटी दुई अंकको बनाउनुपर्नेमा जोड दिए ।
सरकारसहित विभिन्न सार्वजनिक लाभका पदमा अवसर पाएका नेताहरू पुँजीवादी जस्ता भएकाले उनीहरूको सम्पत्ति छानविन हुनुपर्ने माग केन्द्रीय सदस्यहरूले राखेका छन् । केन्द्रीय सदस्यहरूले भ्रष्टाचारविरुद्ध पार्टीबाटै शुद्धीकरण अभियान थाल्नुपर्नेमा जोड दिएका छन् ।
प्रत्येक सदस्यले ५ मिनेटमा आफ्नो धारण राख्ने व्यवस्था गरेको बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले तीव्र आलोचना गरेका थिए ।
केन्द्रीय सदस्य ओम शर्माले पार्टी विग्रिनुको प्रमुख दोषी पार्टी अध्यक्ष प्रचण्ड नै भएको आरोप लगाए ।
उनले भने, ‘माओवादी पार्टी बिग्रियो । यसको अरु कोहि दोषी नभएर प्रमुख दोषी नै अध्यक्ष कमरेड प्रचण्ड हो ।’ उनले आगामी पाँच हजार वर्ष माओवादी पार्टी रहे पनि समाजवादको बाटोमा जान नसकिने तर्क गरे ।
अर्का केन्द्रीय सदस्य हिमाल शर्माले पनि पार्टी बिग्रिनुको प्रमुख दोषी नै अध्यक्ष प्रचण्ड भएको आरोप लगाए ।
उनले भने, ‘पार्टी यसरी विग्रिनुको दोषी अरु कोहि नभएर पार्टी अध्यक्ष कमरेड प्रचण्ड नै हो ।’ उनले सरकारमा गएका पार्टीका नेता अवसरवादी भएको आरोप लगाए ।
उनले थप्दै भने, ‘जो नेता सरकारमा गयो उहीअवसरबादी भएर निस्किन थाले । नेतृत्वमा अवसरबाद लागू भयो ।’
हिजोदेखि सुरु भएको केन्द्रिय कमिटी बैठक आज पनि जारी छ ।
मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।
एक वर्षपछि बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र पार्टीका १० प्रदेश पदाधिकारी एक सय गरी ७५८ जनाको सहभागिता छ ।