काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो ।
पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बैठकबाट पार्टी पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताए।
प्रचण्डले माओवादी अहिले पार्टीजस्तो नभएको टिप्पणी गरे । उनले गठबन्धन सरकारले जनताको पक्षमा काम गरेको भन्दै उनले केन्द्रीय समिति बैठकले अझ प्रभावकारी बनाउने बताए ।
उनले भने, ‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ। मलाई विश्वास छ सबैले गम्भीरता र जिम्मेवारीका साथ पार्टी पुनर्निर्माणको अभियानको थालनी गर्ने विश्वास व्यक्त गर्छु।’
पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उनले यसलाई अवसरमा बदल्नुपर्ने बताए । त्यसका लागि कमीकमजोरी स्वीकार्न डराउन नहुने उनको भनाइ छ ।