काठमाडौं । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठन गर्न आहृवान गरेसँगै राजनीतिक दलहरू छलफलमा जुटेका छन् ।
सर्वोच्च अदालतले बिहीबार दिएको आदेशपछि प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई दिएको समय साउन १६ गते अपराहृन ५ बजे सकिँदै छ ।
प्रदेशसभाको अंकगणितको कारण प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्न संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत जुटाउन दलहरूलाई कठिन छ । हाल प्रदेशमा दुईवटा गठबन्धन छन् । एमाले-राप्रपाको गठबन्धन एकातिर छ भने कांग्रेस-माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको गठबन्धन अर्कोतिर छ । तर, दुवै गठबन्धनसँग सरकार गठन गर्न आवश्यक बहुमत छैन ।
शनिबार पनि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए । तर सहमति नजुटेपछि आज बिहान नौ बजे पुनः कोशी प्रदेशका नेताहरुसँग छलफल हुन लागेको हो ।
सत्ता गठबन्धन बहुमत पुर्याउन सभामुख बाबुराम गौतमलाई पदबाट राजीनामा बाध्यता गराएरै भए पनि कोशीको नेतृत्व लिने गठबन्धनको तयारी छ । गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्न सहमतिनजिक पुगेका छन् ।
सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा बारेमा भने छलफलले निष्कर्ष निकाल्न सकेको छैन । एक नेताका अनुसार कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अघि सार्ने कुरामा दुई दलबीच सहमति बन्न नसकेको बताए ।
गठबन्धनलाई बहुमत संख्या ४७ पुर्याउन सभामुखलाई राजीनामा गराएर मात्रै सम्भव छ । सरकार गठनका लागि ९३ सदस्यीय कोशी प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक हुन्छ । तर, गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक गरी ४६ जना सांसद छन् । एमालेका ४० र राप्रपाका ६ गरी विपक्षी दलसँग पनि ४६ जना मात्र सांसद छन् । अहिलेको राजनीतिक समीकरणमा कसैको सरकार गठन हुने अवस्था देखिँदैन । यस्तो अवस्थामा राप्रपालाई विश्वासमा लिन कांग्रेस-माओवादीको प्रयास जारी छ ।
कोशी प्रदेश सरकार गठनका विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मतभेद देखिएको छ । माओवादी र कांग्रेसबीच नयाँ सरकारको नेतृत्वका विषयमा मतभेद सुरु भएको हो । माओवादीले कांग्रेसको हठका कारण समस्या उत्पन्न भएको आरोप लगाउन थालेको छ ।
सभामुखले राजीनामा दिने भए आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने माओवादीको अडान छ । कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि प्रमुख प्रतिपक्षीमा बस्न तयार रहेको माओवादीको भनाइ छ । तर, कांग्रेसले भने माओवादीले लगाएको आरोप खण्डन गरेको छ ।