शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एक क्विन्टल सुन बरामद प्रकरण : संसदमा एमालेले गृहमन्त्रीको जवाफ माग्ने

बुधबार, साउन १० २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बुधबार बस्ने संसद बैठकमा १०० किलोको सुन बरामद गरिएको प्रकरण बारे आवाज उठाउने भएको छ ।

झन्डै १०० किलोको सुन बरामद गरिएको प्रकरणमा सरकारकै सहभागिता रहेको आशंका गर्दै एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिएर सत्यतथ्य छानविनका लागि मार्ग प्रशस्त गर्नुपर्ने भन्दै आएको छ ।

३३ पटकसम्म भित्रिएको सुन तस्करीलाई गृहमन्त्रीकै संरक्षण रहेको भन्दै एमालेले यसबारेमा जवाफ माग्न लागेको हो ।

यसकै तयारीका लागि एमालेले संसदीय दलको बैठक बोलाएको छ।

दिउँसो १ बजे बस्ने संसद बैठकको तयारीको लागि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताएका छन् ।

‘हामीले १२ बजे संसदीय दलको बैठक बोलाएका छौं। त्यही बैठकले आवश्यक निर्णय गर्छ,’ उनले भने, ‘सुन प्रकरणमा हामीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छौं। यस प्रकरणमा उहाँको कमजोरी देखिएको छ।’

गत मंगलबार त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको थियो।

यही प्रकरणलाई लिएर सत्ता गठबन्धन नेपाली कांग्रेसका केही नेताहरु र प्रतिपक्ष दल एमालेका नेताहरूले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।