धनगढी । सुदूरपश्चिम प्रदेशमा पदको भागबन्डा नमिल्दा नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ। नेपाली कांग्रेसका दलका नेता कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारमा मन्त्री, राजमन्त्री तथा विषयगत समितिको भागबन्डा नमिलेको हो।
सुदूरपश्चिम प्रदेश सरकारलाई सर्मथन गरेको नागरिक उन्मुक्ति पार्टीले भागबन्डा नमिलेको भन्दै सरकारमा नजाने बताएको छ। नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय अध्यक्ष तथा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफूहरु सरकारमा सहभागि नहुने बताएकी छन्।
संघीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रहेकी श्रेष्ठले पठाएको पत्रमा भनिएको छ,‘पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवन्डा नमिलेकाले सहभागि नहुने जानकारी गराइन्छ।’
नागरिक उन्मुक्ति पार्टीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र एक राज्यमन्त्रीलाई मंगलबार प्रदेश सरकारमा पठाउने बताइए पनि सरकारमा सहभागी नहुने जनाएको हो।