बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुन तस्करी प्रकरणमा गृहमन्त्री सबैको ध्यान अन्यत्रै मोड्न प्रपञ्च गर्दैछन् : अध्यक्ष ओली

मंगलबार, साउन ९ २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्विन्टल सुन तस्करीमा गृहमन्त्रीले अरुलाई दोष दिएर उम्कन खोजेको आरोप लगाएका छन्।

कम्बोडियाबाट गएराति स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री नारायाणकाजी श्रेष्ठले नै सबैको ध्यान अन्यत्रै मोड्न विभिन्न प्रपञ्च गरिरहेको आरोप लगाए।

विमानस्थलको सुरक्षाको जिम्मा गृहमन्त्रीको भएको भन्दै अध्यक्ष अ‍ोलीले सानोतिनो संलग्नताबाट यति ठूलो तस्करी संभव नभएकाले गृहमन्त्रीले आफ्नो संलग्नताबारे स्पष्ट पार्नुपर्ने पनि बताए।

सुनकाण्डमा कसको संलग्नता छ भन्ने विषयमा तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै ओलीले यस विषयलाई आफूहरुले नजिकबाट नियालिरहेको पनि बताए।

उनले भने, ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, आफू । उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गर्नुभएको छ की छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँ के आउने के जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन ? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ । गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्राको बियाँ टाँस्दै बस्छन्, मुखैका छेउमा गएर । यो अत्यन्तै अनैतिक हो । गृहमन्त्रीको कृयाकलाप गैर जिम्मेवार हो । यस्ता गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ?उहाँले बताउनुपर्‍यो उहाँको संलग्नता छ छैन ? सानोतिनो संलग्नताबाट यो त भएको छैन होला ! उहाँको संलग्नता छ छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ? यतिकै कोटको गालामा बियाँ टाँस्ने होइन ।’

गत साउन २ सोमबार निर्वाचनको पर्यवेक्षण गर्नका लागि कम्बोडिया गएका ओली एक सातापछि स्वदेश फर्किएका हुन्।

कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यबेक्षण गर्न बिशेष अतिथिको रुपमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, राजन भट्टराईसहित सचिवालयका अन्य सदस्यहरू सो भ्रमण टोलीमा सहभागी थिए ।

एक साता लामो कम्बोडिया बसाइका क्रममा उनले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसहित सरकारी उच्च अधिकारीसँग पनि भेट गरेका थिए।