बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तत्कालीन युनिटी ठगी प्रकरणमा जोडियो सिटिजन्स बैंक

सिटिजन्सका अध्यक्ष भण्डारी, सिईओ पोखरेल र कालु गुरुङलाई कस्ले गर्ने कारबाही ?

बुधबार, असार २० २०८०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका अध्यक्ष राजनसिंह भण्डारी गैर कानुनी रुपमा सम्पत्ति आर्जनमा लागेको तथ्य फेला परेको छ । राजनीतिक शक्ति र पहुँचका कारण उनी यस्तो धन्दामा लागेको तथ्य उजागर हुन थालेका छन् ।

राष्ट्र बैंकका पुर्व कर्मचारीसमेत रहेका उनी त्यसपछि सिटिजन्स बैंकमा केही कित्ता सेयर आफन्तको नाउँमा लगानी गरेर प्रमुख कार्यकारी अधिकृत बन्न सफल भए । उक्त बैंकमा प्रमुख कार्यकारी अधिकृतमा पदमा रहँदा भण्डारीले बैंकको श्रोत र साधनको चरम दुरुपयोग गरे । सिटिजन्स बैंकमा सिइओ भएर छिरेका भण्डारी त्यहाँबाट निस्कँदा हात्ती भएर निस्किए । अहिले सिटिजन्स बैंकमा जागिरे उनै भण्डारी सिटिजन्स बैंक सञ्चालक समितीको अध्यक्ष भएका छन् । बैंकको सीइओबाट ब्रेक लिएको ८ महिनामै उनी सोही बैंकको संचालक समिति अध्यक्ष बन्ने भाग्यमानी पात्र बन्न सफल भए ।  उनको खटनपटनमा एस म्यानको रुपमा बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा गणेशराज पोखरेल रहेका छन् ।

बैैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा पोखरेल भएपनि सिटिजन्स बैंकलाई पुर्णरुपमा चलाउने भनेका उनै भण्डारी हुन् । जसले प्रत्यक्षरुपमा व्यवस्थापनमा नै हस्तक्षेप गर्दै आएका छन् । आफ्नो परिवार राजनीतिक भएको भन्दै उनले मन्त्री शरतसिंह भण्डारी समेतको नाम भजाउने गरेका छन् । स्मरण रहोस् बैंकको श्रोत र साधनको चरम दुरुपयोेग गरेको र कर्जावाला ग्राहकलाई अति नैं ज्यादती गरेको भन्दै सिटिजन्स बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेकै अवस्थामा भण्डारीमाथि केही समुहले भौत्तिक आक्रमण समेत गरेको थियो । उक्त आक्रमणबाट जोगिएका भण्डारी अहिले पनि तिनै भुमाफिया र जग्गा दलालहरुको सेटिङमा चल्ने गरेका छन् । आफु राष्ट्र बैंकको पुर्व कर्मचारी भएको र आफ्नो नजिकको मान्छे सरकारमा भएकाले आफुलाई कसैले पनि कारवाही गर्न नसक्ने भन्दै भण्डारीले अहिले सबैलाई चुरिफुरि देखाउन गरेका छन् ।

यही चुरीफुरीकाबिच भण्डारीको पछिल्लो सेटिङ तत्कालीन युनिट लाईफसंग देखिएको छ । अध्यक्ष भण्डारीका युनिटी लाईफका सञ्चालक प्रसाद भनिने काशीराम गुरुङ र जग्गा व्यवसायी कालु गुरुङ जो ललित निवास प्रकरणसंग जोडिएका विवादित व्यापारी मिनबहादुर गुरुङ र हाल जेलमा रहेका सिभिल होम्सका अध्यक्ष इच्छाराज तामाङको समेत व्यवसायिक साझेदार हुन् । तिनै कालु गुरुङसंग मिलेर सिटिजन्स बैंकका अध्यक्ष भण्डारी, प्रमुख कार्यकारी पोखरेल र युनिटीका काशीरामले युनिटी पीडितलाई फिर्ता गर्नुपर्ने रकमको लागि सरकारले रोक्का गरेको स्वंम्भुको जग्गा सेटिङमा गुपचुपमा बेचेर करोडौं रुपैंयाँ हात पारेको देखिएको छ । सर्वासाधारणबाट ठगिएको पैसाबाट जोडेको कुनै पनि चलअचल सम्पत्ति विक्रीवितरण नगर्न भन्दै अदालतले रोके पनि जेलभित्रैबाट उनीहरुले अनेक षड्यन्त्रमार्फत काठमाडौं उपत्यकाभित्रका जग्गा बेचबिखन गरेका छन् । जग्गा बेचबिखनको बिषय केही समय तै चुप मै चुपको अवस्थामा रहेको थियो । तर सञ्चालकहरुबिच नैं भागवण्डा नमिलेपछि अहिले यो बिषय बाहिर आएको छ । अदालतको फैसला अनुसार जसले जेल सजाय धेरै भोग्यो उसको भागमा धेरै र जो फरार रह्यो, सजाय भोग्नबाट जोगियो उसको भागमा रकम नपरेपछि यो घटना बाहिरिएको हो ।

यस्तो छ सेटिङ धन्दा
युनिटी प्रकरणमा फरार रही जग्गा बेचिएबापतको एक रुपैयाँ पनि नपाउने सञ्चालक समिति सदस्य महेन्द्र केसी रहेको देखिएको छ । जेलभित्र रहेका व्यक्तिहरुको भागमा लाखौं रकम पर्दा आफ्नो हात खाली भएपछि केसीले स्वयभ्भुमा रहेको जग्गा बिक्रिबापत आफूले पाउनुपर्ने आधा करोड नपाए सबै पोल खोल्ने र अख्तियारदेखि अदालतसम्म जाने धम्कीसहित पटक पटक बार्गेनिङ गरेको देखिएको छ ।

केसीको उक्त धम्कीपछि अन्य सञ्चालकले उनलाई यस्तो नगर्न भन्दै कालु गुरुङ मार्फत २० लाख भन्दा बढी रुपैयाँ थमाएपछि केसीले यस घटनालाई छुपाउन जोडबल गरिहेको देखिएको छ । स्वम्भुको जग्गा बिक्रीबापत आएको कुल रकम मध्येमा केसीलाई ५० लाख रुपैंयाँ दिने सहमती यसअघि नैं भएको थियो । तर पहिलो चरणमा २० लाख रुपैंयाँ मात्र दिने र दोस्रो किस्तामा बाँकी ३० लाख रुपैंयाँ दिने भनेपछि केसी अहिले चुप लागेर बसेको देखिएको छ ।

श्रोतका अनुसार केसीले अहिले पहिलो किस्ता बापतको २० लाख रुपैयाँ बुझिसकेका छन् । केसीलाई चुप लगाउनका सिटिजन्समा अध्यक्ष भण्डारी, प्रमुख कार्यकारी पोखरेल, युनिटीका गुरुङको प्रमुख सेटिङ रहेको दावी श्रोतले गरेको छ ।

यस बिषयमा थप तथ्यहरु सार्वजनिक हुने क्रममा रहेको र त्यसको बारेमा समाचार सुत्रले पर्याप्त सूचनाहरु संकलन गरिरहेकाले सप्रमाण सत्यतथ्यरुपमा समाचार संप्रेषण गर्दै जाने हाम्रो प्रयास जारी रहने छ ।