काठमाडौ – नेपाल राष्ट्र बैकले १० अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार बिहिबार छ बर्षे अवधिको बिकास ऋणपत्र २०८६ “च” (छ बर्षे) बिक्री गर्न लागिएको हो ।
ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बिहिबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ । निष्काशन मिती २०८० असार २२ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८६ असार २२ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविधा रहेको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा भने घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने सिमा तोकिएको छ ।