विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि असार २१ गते बिहीबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आइतबार साँझ आह्वान गरेका छन् ।
प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असार २१ गते बिहीबार साँझ ५ बजेसम्म प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विसं २०८० असार १४ गते प्रदेशसभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम असार १५ गते पारित हुन नसकी पदमुक्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेश प्रमुख खापुङले नयाँ प्रदेश सरकार गठन गर्नका लागि नेपालको संविधानको धारा १६८ को २ बमोजिम वा उपधारा ३ बमोजिममध्ये कुन उपधाराका आधारमा मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न आह्वान गर्नुपर्ने हो भनी महान्यायाधिवक्तासँग लिएको कानूनी रायसमेतका आधारमा उक्त आह्वान गरेका हुन् ।
गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि कोशीमा नयाँ सरकारको प्रक्रिया सुरु भएको हो ।
कोशी प्रदेशमा एमाले ठूलो दलको हैसियतले फेरि पनि सरकार प्रक्रियामा दाबी गर्ने पक्षमा रहेको बताइएको छ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।
यसैबीच नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ भने यस अघि सरकारको नेतृत्व गरेको एमालेले भने सहमतिय सरकार गठनका लागि पहिलो आफ्नो दलले मुख्यमन्त्री पाउनु पर्ने दाबी गर्दै आएको छ ।