बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

संसदमा आफ्नो फोटो नराखेकोमा उपसभामुख रानाको असन्तुष्टि

आइतबार, असार १७ २०८०

काठमाडौं । उपसभामुख इन्दिरा रानाले सिंगापुरको संसदमा सभामुखको फोटोहरु राख्ने गरेको तर नेपालको संसदमा भने नराख्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

६५ औं संसद दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताएकी छन् ।

उनले भनिन्, ‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पाल्र्यामेण्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्युले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रुपमा । हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्युको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । संसदलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ ।’

उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताएकी छन् ।