काठमाडौं – इलामको इलाम नगरपालिका–१ देउमाई खोलास्थित सडकमा मे.१ त२५३० नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार झापा बिर्तामोड नगरपालिका–६ बस्ने २४ वर्षीय उमेश दर्जीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य १ जनालाई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएकोमा उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
मोरङको रंगेली नगरपालिका–९ फर्सडागीस्थित सडकमा ना.१ क ७२१८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–९ सखुवाथान बस्ने ७० वर्षीया मुस्नी राजवशीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको रंगेली अस्पताल हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्साको बिन्दबासीनी गाउँपालिका–३ झौवास्थित सडकमा ना.५ त ४३२५ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने करिमन दासको छोरा ११ वर्षीय राम सुरत दासको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।